बिकल्प

February 1, 2014

897

बिकल्प

-Bindu

बल्व बिग्रिएको थियो , आँफै बनाउन कम्मर कसेर लागेको थियो मिलन  ।


” त्यसो नगर्नुस् न भन्या ! जान्नेलाई पो देखाउनु पर्छ ! झर्नोस तल ! बिन्ति!” निर्मलाले आग्रह गरी ।

“ के ठानेकी छ्यौ निरु ! तिम्ले मलाई ! यती जाबो पनि बनाउन सक्तिन म भन्ठान्छ्यौ ? ! ” मिलनले अड्डी लियो  तल झर्न मानेन ।
“ यस्तोमा त फुँइ नलगाउनोस्न भन्या ! हजुरलाई आनन्द आँउछ है यसरी तड्पाउन मलाई ! ” उ अब भने रुनै लागि । उस्को अनुहार निलो कालो रुन्चे देखेर मिलनलाई टिठ लाग्यो  ।

“ लौ ! लौ ! तिम्रै जित भो ! ” भन्दै उ टेबलमाथि अड्याइएको कुर्ची बाट तल झर्यो ।

निर्मलाले टेबलमाथिबाट कुर्ची तल राख्दै भनी “यस्तोमा त मेकानिकलाई बोलाउनु पर्छ , हजुरले तालिम लिनु भा’ छ र ? ” उस्ले मनको डर पोखी ।
“ तिमी त सार्है कातर ! ”  मिलनले निर्मलाको कपाल तान्दै भन्यो ।

भित्ते घडीले ” ट्बाङ् !” आबाज दियो । बिहानको ११ बज्यो ।
“ ए बाबु ! निरु  ! खाना खाँदैनौ तिमेरु ! ”
तल भान्साबाट आमाको  स्बर आयो ।

“ ओहो ! म त हजुरलाई खान बोलाउन आएकी थिए  ! भुसुक्कै बिर्सेंछु ! ” उ तल भान्सातिरलागि , उ सँगै मिलन पनि आयो ।

“ सबैले खाए  , मेरो त एक छाके हो , तल नानी का’ घ राँ ‘ (देवर देवरानी ) पुगेर आम्ला , तिमेरु खाओ र बज्यैलाई भान्सा उम्काइ द् याओ ! ” भन्दै आमा  हिँडिन ।

खाना तातै थियो , निर्मलाले  खाना  पिर्के टेबुलमा राखिदीइन । सिमेन्ट भुँइमाथि बाक्लो गुन्द्री ओछ्याएको थियो । गुन्द्री अगाडि पिर्के टेबल थियो ।  निर्मलाले खानाको थालि पिर्के टेबलमा राखी दिई । मिलन पलेटी  कसेर खानलाई बस्यो ।

” तिम्लाई खोइ त ? ”

“ हजुर लिँदै गर्नोस , ल्याइ हालेँ !” निर्मलाले  पनि खाना पस्केर सँगै खान बसी । घरमा भान्से बज्यै थिईन तर खाने बेलामा  निर्मला आँफै अघी सरेर दिन्थिन । मिलनलाई निर्मलाकै  हातको खानुपर्थ्यो ।

“ मेथीको अचार बनाइनौ आज  निरु ? ”
” ओहो ! कस्तो शुद्दी मेरो ! ” निर्मलाले जुठै हात निधारमा पुर्याइ । मिलनले निर्मलालाई  हेर्दै मुसुमुसु हाँस्यो जिस्क्याउने भावले । उस्ले कुरा बुझी , झट्ट हात तल राखी अनि  मेथिको लेतो अचार थालिको छेउमा राखी दिई र आफ्नो भागमा पनि राखी ।

मेथी र खुर्सानी सुख्खा भुटेर त्यसमा नुन मिसाएर पिँधेको धुलो पिठोमा पहाडीयाकागती निचोरेर बनाएको लेतो अचार खुब मन पर्थ्यो मिलनलाई ।

मेथिको अचारमा ट्बाक्क जिब्रो फड्कार्दै  मिलनले भन्यो , ” आज तीनबजे हाम्रो मिटिङ्ग छ डाक्टरसँग , भुलेकी छैनौ होला नि निरु ! ”

“ त्यै सम्झिँदा सम्झिँदै त बनाएको अचार पनि दिन भुले नि हजुरलाई ! ”

“ यति धेरै चिन्ता पनि नलिउ  निरु ! हुने हार दैब नटार ! ” उस्ले खाना सिध्यायो र बाहिर धारामा हात धुन निस्कियो ।
निर्मलाले बल गरी गरी खाना निली ।

“ निरु ! म साढे दुई बजेतिर आँउछु , तिमी तयार भई रहनु ! यसो फर्निचर पुग्नुपर्ला ! ” उ आफ्नो फर्निचर कारखाना गयो ।
२:३० तिर नै मिलन घर आईपुग्यो ।

उस्ले आमा – बहिनीहरु लाई हेर्यो देखेन ।
“ बज्यै ! आमा आई सक्नु भएन ? निरु खोइ ? ”

“ माथि छतमा सुइटर बुन्दै थिईन , मलिनो अनुहार छ दिनभरी नानीको ! ” बज्यैले भनिन ।
उु माथि गयो । निर्मला एकोहोरिएर सुइटर बुन्दै थिईन् ।
“ निरु ! ”
“हजुर ! ” उनी झस्किन ।
“ ३ बज्नै लाग्यो तिमी तयार भ ई छै नौ ? ! ”
“ ओहो ! म त भुसुक्कै बिर्सेंछु ! ”
उनी कोठामा पुगिन र छिनमै तयार भईन् जानलाई ।
“हे प्रभु ! यो रिपोर्टले ज्यान देओस ! ”  निर्मलाले हात जोडिन् ।
मिलनले निर्मलाको हात समाउदै भन्यो ” हिम्मत राख निरु ! ”

~~~~~~~~

“ बुवा- आमा, दिदी , काका काकी सबैबाट दोस्रो विवाह गर्ने कुरा चलाई रा’नु भा’ छ , यसपाली पनि उस्तै रिपोर्ट आए हजुरले बंशको लागि पनि विवाह त गर्नैपर्छ ! ”  निर्मलाले आँखा भरी आँशु लिएर भनिन्  ।
“ निरु ! अनाथ आश्रमबाट  बच्चा ल्याएर पाली ( पालन -पोषण गरी ) सन्तान बनाउन सक्छौ नि ! तिमीपनि बुवा-आमाले झैँ कुरा नगर है निरु  ! ” भन्दै उस्ले निर्मलालाई   पुन सम्झायो ।

उनिहरु दुबै आँगनमा आए । आमा-बहिनिहरु सबै आँगनमा आई सकेका थिए ।

आमा नाँङलोमा दाल केलाउदै थिईन , बहिनीहरु बुन्तुन गर्दै थिए ।
“ हामी रिपोर्ट लिन जाँदै छौँ , ” मिलनले  बाईक स्टार्ट गर्दै भन्यो ।

“ त्यतिका ठाममा त देखाएकै हौ तिमरले ! गुरु जि ( ज्योतिष ) ले पनि यस्को ( निर्मलातिर इंगित गर्दै ) चि’नाँ सन्तान लेख्या छैन भन्दै थे ! नाती नातिनाको मुख नहेरी सास जाने भो मेरो !!! बुढी फत्फत्याउन थालिन्  फेरि । निर्मला अँध्यारो भईन् ।

यस् पटकको रिपोर्टमा पनि निर्मलाकै तर्फबाट कम्जोरी देखियो । पाठेघर सम्बन्धि समस्या थियो । दिनभर मिलन र निर्मलाको जिउमा घाम लागेन । घरिघरि एकोहोरिरहन्थिन निर्मला । घरका परिवार – नातेदार सबैले सन्तानको लागि दोस्रो विवाह गर्न जोड दिईरहे ।

~~~~~~~

सधै झैँ दिन पिरमै बित्यो  । अहिले निदाउने तरखरम थिए उनिहरु ।  निर्मलालाई औडाहा भईरह्यो – निन्द्रा लागेन । उठेर पर्दा खोली , झ्याल खोली । बाहिर जुनेली रात थियो साथमा बादल डम्म लागेकोले आकाश कहिले उज्यालो कहिले अध्यारो देखिन्थ्यो बतासका लहर संगै   ।  निर्मला झ्यालमै टाँसिएर बाहिर हेर्दै थिई जून र बादलको लुकामारी  । मिलनलाई  पनि निन्द्रा लागेन  । उ किताबमा ध्यान लगाउन खोजिरहेको थियो , सकेन .  । बेडबाट उठ्यो र  निर्मलाको शिरमा आफ्नो चिउँडो अड्याउदै  बादलसंग लुकामारी खेलिरहेकी जूनमा भुल्न खोज्दै थियो एकतमास ।

चिसो बतास सरर उड्दै आयो  निर्मलाको कपाल मिलनको अनुहारभरि छरपस्टियो । भित्तामा झुन्डाइएको क्यालेन्डर फर्फराउदै उड्न थाल्यो  । बतास धेरै नै चल्न थाले पछी उनीहरुले झ्याल बन्द गरे  ।

दुबै बेडमा आए ।   मिलन बेडमा आड लगाएर बस्यो । मिलनको  काखमाथि सिरानी  अड्याउदै निर्मला बोलिन्  , “जहाँ तहीँ देखायौ ! अब हामी सँग ***बिकल्प*** छैन ! सबैको मन उदास हुनुभन्दा हजुरले विवाह गर्नु भएको बेश ! ”

“तिमी कुन मुटु लिएर भन्दै छ्यौ निरु ! ” उस्ले निर्मलाको हात जोडले समाउँदै भन्यो ।
“ घर – परिवारको खुशीको लागि यो सानु मुटु के ठुलो ! ” उस्ले आफ्नो हातमाथिको  मिलनको हातलाई सुम्सुम्याउदै भनी ।

“तिम्रो मुटु सानो छैन निरु ! त्यहाँ म पनि छु , तिमी दुख्दा म पनि दुख्छु ! कम्तिमा मेरै लागि त यसो नभन ! ”
“ म के गरुँ ! प्रभु ! ” निर्मलाले मिलनबाट सिरानी हटाएर बेडमा राख्दै पल्टिएर भनिन ।

मिलन पनि  पल्टियो सिरानीमा र भन्यो , ” आफूलाई सम्हाल  निरु ! जहाज डुबेको छैन !  हाम्रो त सन्तान न नभएको हो ! हामी सँग बिकल्प छन त्यस्को लागि । अनाथ आश्रम मार्फत हामी हाम्रो बिकल्प पुरा गर्न सक्छौ । ”

“ परिवारमा हजुर र म मात्रै छै नौ ! आमा  – बुवा – सबै हुनु हुन्छ , सबैको मनले मान्नु पर्‍यो नि ! ”
“ जिन्दगी जिउने हामीले हो निरु  ! के थाहा ! अर्को विवाह गर्दा भोलिका दिन हामी सबैले घरको शान्ती गुमाउछौ कि ! यो किन सोच्दिनौ तिमी ! ”

एकछिन्  निर्मला केही बोलिन ।

फेरी मिलन आँफै बोल्यो , “दोस्रो विवाहले तिम्रो खुशी छिनिने छ , तिमी पिरको आहाल मा डुब्ने छ्यौ  निरु ! ”

“ संसार बिश्बासमा अडेको छ ! हजुरको मायामा मलाई बिश्बास छ , मैले रुनु पर्दैन ! ”
” तिमीले सुनेकी छैनौ आमाहरुको कथा-ब्यथा !  आमा त पढे लेखेको हुनु भएन र त्यही ईतिहास तिमीमा दोहोर्याउन खोज्दै हुनुहुन्छ ! तिमी त पढे लेखेकी छ्यौ ! जानी जानी आफ्नो खुशीमा आगो लगाउन खोज्दै छ्यौ ! यती कम्जोर नबन यती छिट्तै निरु ! ”

“हजुरको मर्जी ! म त जताबाट पनि पिल्सिरहने नै हो ! ” अहिले चाँही उस्ले मनको दुखेसो यसरी पोखी ।
“तिमीले मेरो साथ दिनु पर्छ निरु ! म यो समस्याको समाधान गर्छु छिट्टै नै ” ।

यस्तै छलफल गर्दै दुबैले नमिठो रात बिताए ।

~~~~~~

बिहानीको उज्यालो सँगै परिवारका सबै सदस्य चिया पिँउदै थिए ।  मिलन दुधको चिया पिउँदैनथ्यो । उस्लाई अदुवा मिसाएको कालो चिया दिईन् निर्मलाले   ।

“हाम्ले कुरा चलाई सक्या छौँ ! ति मेरले हुन्छ मात्रै भन्देओ , मन्दिराँ टिका टालो गरे पुग्छ भन्या छन उनर का तर्फा’ टि । ” मिलनतिर हेर्दै बोलिन् आमा  ।

“ चाइने जो ! मर्दका २-४ जैरी स्बास्नी हुनु कुन ठुलो कुरो हो ! चाइने जो ! मेरै हेर अब ! यल्लाई ( आमातिर देखाउदै )  ल्याएकै हुँ मैले ! चाइने जो ! सबैलाई थाम थाम थुम थुम पारेर राख्न सकेकै हो ! त तँ तँ

जोइ टि—-  !”

“ बुवा ” !!”

“ मिलनले  वाक्य पुरा हुन दिएन । उ जुरुक्क उठ्यो र भन्यो ” हामी अनाथालयमा गएर बच्चा ल्याउने निर्णयमा पुगिसक्या छौँ ! ”

“के ! रे ! अनाथलयबाट ? !!! के भन्च यो ! ”आमाले मुख खुल्ला राखिन आँखा झिमिक्कै नगरि ।

चियाको गिलास नसिध्याउदै मिलन जुरुक्क उठ्यो र भन्यो ” म बाट दोस्रो विवाह हुँदैन ! जबर्जस्ती भो भने म घर छोडेर हिँडिदिन्छु ! ”

घरमा दिन दिनै गन्थन-खल्बल भइरह्यो । आमा-बुवा- घरका सदस्य सबै अब निर्मलासंग  मुख फुलाउन थालिसकेका थिए । घोच्पेच पनि शुरु हुन थाल्यो । निर्मलालाई उठि सुख न बसी सुख थियो ।

यता  मिलन अनाथलायमा कागजात तयार गर्दै थियो ।

~~~~

एक दिन उस्ले आमा र  निर्मलालाई अनाथालय लिएर गयो ।
भर्खर दुई हप्तापनि नपुगेको बालिका च्याहा! च्याहा ! गर्दै थिई । त्यहाँ अन्य स-साना बच्चा बच्ची पनि थिए । भर्खरै जन्मिएका देखी लिएर हुर्कदै गरेका नानीहरु ।

च्याहा! च्याहा! रुँदै गरेकी नानीलाई  निर्मलाले उठाएर काखमा बोकिन्  । बालिकाले मुख आ-आ गरिन , सायद दुध खोजेकी थिइन । आश्रमकि धाइले बोत्तलमा दुध ल्याएर दिईन्  । निर्मलाले  दुध खुबाउन थालिन् । एकछिनमा आमाले  नानीलाई हातमा लिएर खेलाउन थालिन् । बालिकाको मुस्कानसंगै  आमा र निर्मलाको आँखा आँशुले भरियो । त्यहि मौकामा  मिलनले  भन्यो ” यिनको नाम यहाँ तुलसी राखिएको छ । म यहाँ ५-६ दिन देखी आई रहेको छु । यिनलाई नै मैले हाम्रो पहिलो सन्तानको रुपमा घर लैजाँदै छु । भोलीसम्ममा लैजान सकिन्छ । तपाईंहरुको हस्ताक्षरका लागि यहाँ ल्याएको थिएँ मैले ! ”

“अहिले नै लैजान मिल्दैन ! ” लाडिएको स्वरमा आत्मिक अनुरोध गरिन् निर्मलाले ।
आमाले  पनि आशलाग्दो नजरले मिलनलाई हेरिन ।

मिलनको  अनुहार उज्यालो भयो । मुसुक्क हाँस्दै बोल्यो,  ” भोली सम्म धैर्य गर्नैपर्छ ” ।

~~~~~~~~~~~~~~~~~~~~~

“च्याहा! च्याहा ! च्याहा ! ”
”   निरु ! ए निरु  ! ”
”  हजुर ! ”
”  तेल तातेन ? ”
”  ल्याएँ हजुर ! ”
निर्मलाले तेल तताएर ल्याईन्  ।
” ते- ते बाबा ! ते – ते – ! ते – ते ते – ते  ”

उमंगका साथ् तेल लगाउन व्यस्त भईन् आमा  ।
छिमेकीहरु आँगनमा जम्मा भईरहेका थिए ।
एकै छिनमा निर्मलाले दुध पनि ल्याइन बोत्तलमा । आमाले ते-ते सिध्यायपछी  निर्मलालाई दिईन तुल्सा ।
”  तत – तत – तत ! ” गर्दै निर्मलाले दुध खुवाईन ।

बाताबरण आनन्दित भएको थियो सानी बालिका तुलसीको आगमनले ।

छिमेकी गुरुङ्नी बजुले मिलन तर्फ हेर्दै   भनिन ,  ” यास्को पेटमा ता धेउता छ पो ! सापुई को पेटमा धेउता बासोस्  यास्को जस्ताइ ! कान्छी पानि ले न !  निरुले लेई दुका पानि दे ना , तुलाई धेउताले हेर्चा ! ”

यसको पेटमा त देउता छ पो ! सबैको पेटमा देउता बसोस यसको जस्तै ! कान्छी पनि ल्याएन ! निर्मलालाई  दुख पनि दिएन , तलाई देउताले हेर्छ )

सफा मनकी गुरुङ्गि बजूसगै सबै गाउलेले बधाई दिए मिलन र  निर्मलालाई . 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: